बिर्तामोड । झापाको बिर्तामोडमा रहेको गोमेन्द्र बहुमुखी महाविद्यालयमा मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबिए) र मास्टर अफ कम्प्युटर एप्लिकेशन (एमसिए)को पढाइ हुने भएको छ ।

 

महाविद्यालय सञ्चालक समितिले पढाइबारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्राचार्य डा. रुपकप्रसाद खनालले यसै शैक्षिक सत्रदेखि अध्ययन सुरु हुने बताए । गोमेन्द्रमा हुने एमबिए र एमसिएको पढाइ झापामा मात्र नभएर पूर्वी पहाडी जिल्लाकै प्रथम भएको उनको भनाइ थियो ।

 

उच्च शिक्षाका लागि झापाबाट काठमाडौँलगायत विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै गोमेन्द्रले कम शुल्कमा उच्चस्तरीय पाठ्यक्रमको अध्ययन गराउने जनाएको छ । घरपरिवारमै रहेर अध्ययन गर्ने अवसर गोमेन्द्रले जुटाइदिएको सञ्चालकको भनाइ छ ।

 

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको गोमेन्द्रले दुवै विषयमा ३३-३३ जना विद्यार्थी भर्ना गर्न पाउने छ । जसमा १० प्रतिशत छात्रवृत्ति रहनेछ । दुवै विषयको अध्ययन शूल्क ३ लाख ५० हजार रहने पनि जानकारी दिइएको छ ।

 

बिहान र साँझको समयमा अध्यापन गराइने भएकाले इच्छुक विद्यार्थीले विभिन्न कार्यालयमा काम गर्दै अध्ययन गर्ने समय मिलाइएको प्राचार्य खनालले बताए । उनले विभिन्न कार्यालयमा काम गरिरहेका र थप अध्ययन गर्न रुचि भएका कर्मचारीलाई लक्षित गरिएको पनि सुनाए ।

 

स्नातकोत्तर तहको विभागीय प्रमुखमा प्राडा पृथ्वी राई रहेका छन् भने एमबिएतर्फ विमल राजवंशी र एमसिएतर्फ सुनिल शर्मा संयोजक रहेका छन् । संकाय सदस्यमा पिएचडी र एमफिल गरेका अध्यापकहरुबाट अध्यापन गराइने बताइएको छ ।

 

गोमेन्द्रले २०५६ सालमा विज्ञान तथा प्रविधि संकायतर्फ बिसिए र २०६२ सालदेखि व्यवस्थापन संकायतर्फ बिबिएको पठनपाठन सुरु गरी प्राविधिक तथा व्यावसायिक जनशक्ति उत्पादन गर्दै आएको जनाएको छ ।

 

शिक्षासेवी तथा संस्थापक अध्यक्ष गणेशप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक बुधमाया खनाल, भाइस प्रिन्सिपल सरु खनाललगायत प्राध्यापकहरुको उपस्थिति थियाे ।