शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका १० नम्बर वडा कार्यालयले वडाबासीलाई लक्षित गरी दुई दिने निशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोवेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोगमा सुरु स्वास्थ्य शिविरको उद्घाटन नगरकी उपप्रमुख खड्गमाया पराजुलीले गरिन् ।
बुद्धचाेकस्थित शुभतारा एजुकेशन फाउण्डेशनको प्रांगणमा आयोजित स्वास्थ्य शिविरमा नोवेल अस्पतालका २१ जनाको विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोली रहेको छ । बुधबारसम्म सञ्चालन हुने शिविरमा मानिसको कपालदेखि पैतालाको नङसम्मको स्वास्थ्य परीक्षण गरिने अस्पतालका आँखा रोगका डा. कुमुदकुमार झाले बताए ।
नोवेलमा कार्यरत जेनरल मेडिसिन, स्त्री रोग, हाडजोर्नी तथा नशा रोग, बालरोग, नाक, कान, घाँटी, रेडियोलोजिस्ट, छाला रोग, शल्यक्रिया, दन्तरोगका डाक्टरसहित प्राविधिक, ल्याव टेक्निसियन र स्टाफ नर्स शिविरमा खटिएका छन् ।
डा. झाका अनुसार स्वास्थ्य शिविरमा भिडिओ एक्सरे, इसीजी र ल्यावबाट तत्काल रिपोर्ट प्रदान गरिनेछ भने शिविरस्थलमै हुने उपचार गर्न सकिनेछ । यस्तै, सामान्य शल्यक्रिया पनि गरिनेछ भने जटिल रोगको उपचार र शल्यक्रियाका लागि आवश्यक सुझावसहित अस्पतालमा बोलाइने उनले बताए ।
वडाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत र काठमाडौँको सत्याग्रह साप्ताहिकको सहआयोजनामा भएको शिविरमा ४ सयदेखि ५ सय वडाबासीले स्वास्थ्य परीक्षण गरी लाभ लिने अनुमान गरिएको वडा सचिव विक्रम पोख्रेलले बताए ।
उनका अनुसार शिविरमा स्वास्थ्य परीक्षणसँगै केही औषधि वडाले निशूल्क वितरण गर्ने व्यवस्था मिलाएको छ । वडाध्यक्ष भुपेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शुभतारा एजुकेशन फाउण्डेशनका प्रधानाध्यापक कुमार रायाले स्वागत गरेका थिए भने उपप्रमुख पराजुलीले उद्घाटन मन्तव्य राखेकी थिइन् ।