शनिश्चरे । झापाको अर्जुनधारा १० नम्बर वडा कार्यालयले आयोजना गरेको दुई दिने निशूल्क स्वास्थ्य शिविरमा स्थानीय ६१५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

 

स्थानीय शुभतारा एजुकेशन फाउण्डेशनको प्रांगणमा नोवेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा विभिन्न ११ वटा विभागमा ६१५ जनाले १ हजार ४२६ पटक स्वास्थ्य परीक्षण गराएको डा.कुमुदकुमार झाले जानकारी दिए ।

 

उनका अनुसार भिडिओ एक्सरेमा २०६, इसीजीमा १०३, रगत परीक्षणमा १९६, जेनरल मेडिसिनतर्फ २११, स्त्री रोगतर्फ ७२, हाडजोर्नीतर्फ १४३, बाल रोगतर्फ ४७, नाक, कान, घाँटीतर्फ १०१, सर्जनतर्फ ३६, छाला रोगतर्फ ८४, दाँततर्फ ६१ र आँखातर्फ १८५ जनाले परीक्षण गराएका छन् । आँखातर्फ २ जनाको सामान्य शल्यक्रिया पनि गरिएको उनले बताए ।

 

काठमाडौँको सत्याग्रह साप्ताहिकको सहआयोजना रहेको शिविर समापनमा अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले छोटो समयमा गरिएको व्यवस्थापनमा नोवेल अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी रहेको भन्दै धन्यवाद दिएकी थिइन् ।

 

विराटनगर पुगेर सेवा लिन नसक्ने सेवाग्राहीका लागि शिविर वरदान सावित भएको भन्दै उनले अस्पतालको सेवाभावको पनि उच्च मुल्यांकन भएको सुनाइन् । जनप्रतिनिधिले विकास निर्माणमात्र नगर समृद्धिको आधार नभएर नागरिकको स्वास्थ्य पनि समृद्धिको सूचक भएको अनुभूति गर्न सकेको भन्दै उनले प्रशंसा पनि गरिन् ।

 

अस्पतालका डा. झाले व्यवस्थित शिविरमार्फत सकेसम्म सन्तुष्ट हुने गरी सेवा गरेको र वडा कार्यालयले सेवा गर्ने मौका दिएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए । उनले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर जनप्रतिनिधिले अन्य वडामा पनि स्वास्थ्य शिविर राख्न आग्रह गरेका छन् ।

 

नोवेलमा कार्यरत जेनरल मेडिसिन, स्त्री रोग, हाडजोर्नी तथा नशा रोग, बालरोग, नाक, कान, घाँटी, रेडियोलोजिस्ट, छाला रोग, शल्यक्रिया, दन्तरोगका डाक्टरसहित प्राविधिक, ल्याव टेक्निसियन र स्टाफ नर्स शिविरमा खटिएका थिए ।

 

वडाध्यक्ष भूपेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नोवेल शिक्षण अस्पताल र स्थान उपलब्ध गराएको शुभतारा एजुकेशन फाउण्डेशनलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम वडा सचिव विक्रम पोख्रेलले सञ्चालन गरेका थिए ।