शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले स्थानीय सरकारले पाठ्यक्रम बनाउन लागेको बताएका छन् । अर्जुनधारा ९ मा रहेको प्रगति अङ्ग्रेजी माध्यमिक विद्यालयको २६औं वार्षिकोत्सव तथा मेला उत्सव २०७९ को बिहीबार उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

 

नगरपालिकामा रहेका सरकारी तथा निजी विद्यालयलाई लक्षित गरी नगरपालिकाले नयाँ पाठ्यक्रम बनाउन लागेको उनको भनाइ थियो । कक्षा ८ सम्मका विद्यार्थीका लागि उक्त पाठ्यक्रम उपयोगी हुने उनले सुनाए ।

 

विद्यार्थीलाई संस्कारयुक्त शिक्षा प्रदान गर्दै चरित्रवान बनाउन नगरपालिका लागिपरेको पनि उनले बताए । विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद गुरागाईंको अध्यक्षतामा आयोजित वार्षिकोत्सवको सन्दर्भमा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न खानाका स्टलहरु, विज्ञान प्रदर्शनी, कराते काता प्रदर्शनी गरिएको थियो ।

 

विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीद्वारा बनाइएका रिमोटबाट चल्ने पानी जहाज, गाडी, स्काभेटर, कम्प्युटरका पार्टसका विषयमा जानकारी, विद्युत् प्रवाहबारे प्रदर्शनीमा नगर प्रमुख गोम्देनलगायत अतिथिहरुले अवलोकन गरेका थिए ।

 

विद्यालयका लेखा प्रमुख दिपेन्द्र सुब्बाका अनुसार सोही कार्यक्रममा विषयगत शैक्षिक खेल, शैक्षिक पुरस्कार वितरण र स्पोर्टस मिट-२०७९ को पुरस्कार वितरणलगायतका कार्यक्रमहरु सञ्चालन भएका थिए ।

 

विद्यालयका प्रधानाध्यापक मातृकाप्रसाद निरौलाले विद्यालयको वर्तमान अवस्था र भावी रणनीतिबारे जानकारी गराएको कार्यक्रममा शिक्षक मुना बस्नेतले स्वागत गरेकी थिइन् ।

 

विद्यालयका संयोजक एवम् शिक्षक सुनिल थापा मगरले औपचारिक कार्यक्रम र विद्यार्थीहरु आराध्या पराजुली, श्रेया अधिकारी, हृदिका प्रसाईंलगायतले सांस्कृतिक कार्यक्रमको सञ्चालन गरेका थिए ।