शनिश्चरे । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आईसीटी डे)को सन्दर्भमा अर्जुनधारा नगरपालिकाको सूचना प्रविधि शाखाले आयोजना गरेको सप्ताहव्यापी विद्युतीय साक्षरता अभियान सम्पन्न भएको छ ।

 

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ को अवसरमा सूचना प्रविधि शाखाले नगरका सामुदायिक विद्यालयहरुमा अभियानअन्तर्गत मंगलबारदेखि विद्युतीय साक्षरता तालिम सुरु गरेको थियो । नगरभित्र रहेका नौ वटा सामुदायिक विद्यालयका कक्षा १०मा अध्धयनरत् विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको तालिममा ५४५ जना विद्यार्थी लाभान्वित भएको शाखा प्रमुख विनोद खनालले जानकारी दिए ।

 

उनका अनुसार अर्जुनधारा माध्यमिक विद्यालय, अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालय, कालिस्थान माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, महारानीगञ्ज माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, शनिश्चरे माध्यमिक विद्यालय र सिंहदेवी माध्यमिक विद्यालयमा तालिम सञ्चालन गरिएको थियो ।

 

चालु अवस्थामा रहेका विभिन्न प्रविधिबारे जानकारी र विद्युतीय प्रविधिको प्रयोगबाट हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्नेसँगै अर्जुनधारा नगरपालिकाले प्रवाह गर्ने विद्युतीय सेवाबारे जानकारी दिने उद्देश्यले आयोजना भएको तालिममा सहजकर्ताहरु शाखा प्रमुख खनाल, कम्प्युटर महासंघ झापाका सचिव लोकप्रिय खनाल र प्राविधिक सहायक भीष्म घिमिरेले सहजिकरण गरेका थिए ।

 

सोही तालिममा अर्जुनधारा नगरपालिकाले तयार गरेको अनलाइन कर भुक्तानी प्रणालीबारे जानकारीमूलक ब्रोसर पनि वितरण गरिएको थियो । यस किसिमको तालिम नगरपालिकाका सबै वडामा सञ्चालन गर्ने शाखाको तयारी रहेको शाखा प्रमुख खनालले जानकारी दिए ।