झापा । झापाको पुरानो शैक्षिक संस्थामध्येको एक शनिश्चरे माध्यमिक विद्यालयमा सुविधायुक्त नयाँ चमेना गृह बन्ने भएको छ । अर्जुनधारा ८ मा रहेको विद्यालयको चमेना गृह निर्माणका लागि आज अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिं गोम्देन र ८ नम्बर वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले संयुक्तरूपमा शिलान्यास गरे ।
प्रदेश सरकारले स्थानीय तहहरूसँगको साझेदारीमा प्रदेशभरिका १३ वटा माध्यमिक विद्यालयलाई नमुना मावि विकास कार्यक्रमका लागि छनौट गरेको थियो । जसअन्तर्गत २००५ सालमा स्थापित शनिश्चरे माविसमेत छनौटमा परेको छ ।
चालू आर्थिक वर्षका लागि उक्त कार्यक्रमअन्तरगत मन्त्रालयको ४२ लाख ५० हजार र अर्जुनधारा नगरपालिकाको १४ लाख २० हजार रुपैयाँको साझेदारी लागतमा चमेना गृहसँगै विद्यालयमा विभिन्न काम हुने भएको छ । विद्यालयका शिक्षक पुण्य सुवेदीका अनुसार उक्त बजेटबाट भौतिक, शैक्षिक तथा व्यवस्थापकीय कार्यहरू गर्ने विद्यालयले योजना तयार गरेको छ ।
उनका अनुसार सुविधायुक्त चमेना गृह निर्माण, शौचालयहरूको मर्मत, पुस्तकालय र आइसिटी ल्यावको थप व्यवस्थापन, बास्केट बल कोर्ट, भलिबल कोर्ट, टेबल टेनिस कोर्ट निर्माण र कार्यालय कक्षा व्यवस्थापन चालू आर्थिक वर्षका योजनाभित्र परेका छन् ।
नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षहरूमा प्राप्त हुने अनुदानबाट थप कार्यहरू गर्नका लागि विद्यालयले नमुना विद्यालय विकास गुरुयोजनासमेत तयार गरेको जनाइएको छ । झापा जिल्लाकै दोस्रो पूरानो यस विद्यालयमा हाल करिब १ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।