बिर्तामोड । झापाको बिर्तामोडमा एकदिने विकास पत्रकारितासम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रमलाई लेखक तथा सञ्चारकर्मी केदार शर्माले फरक ढंगबाट सहजीकरण गरेका थिए । शर्माले विकासलाई हेर्ने दृष्टिकोण फरक फरक हुने बताउँदै पत्रकारले विषयबस्तुलाई केलाएर तथ्य जाँच्न पछि पर्न नहुने बताए । उनले उद्विकास र विकास फरक भएको दृष्टान्त प्रस्तुत गर्दै विकास पत्रकारितामा सामाजिक आर्थिक पाटोलाई हेरिनु पर्नेमा जोड दिए ।
पत्रकारहरुले आदिवासी समुदायको आफ्नो संस्कृति, भाषा, खानाजस्ता आफ्ना परम्परागत कुराहरु लोप हुन लागेको भन्दै त्यसतर्फ कलम चलाउन शर्माले आग्रह गरेका थिए । साथै, भौतिक संरचना निर्माणलाई मात्र विकास मान्ने मानसिकताभन्दा माथि उठेर चेतनाको विकास हुनुपर्ने धारणा राखे ।
कार्यक्रमको उद्घाटन गरेका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न सुझाव दिंदै सकारात्मक पक्षलाई उजागर गर्नुपर्नेमा जोड दिए । बिर्तामोड वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकीले अहिलेका युवाहरुमा नकारात्मक कुराहरुको प्रभाव बढी परेको भन्दै सकारात्मक पक्षलाई जोड दिनु पर्ने बताए ।
सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेको थिइन्। सहभागीलाई गृहकी उपाध्यक्ष लिला अनमोलले स्वागत गरेको कार्यक्रममा धन्यवादसहित समापन सचिव मायामितु न्यौपानेले गरेकी थिइन्।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । नारी सञ्चार गृहले समय समयमा फरक फरक विषयमा तालिम, गोष्ठी तथा अन्तरक्रिया गर्दै आएको छ ।