झापा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

 

आइतबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक, दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

यस्तै, आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।