बिर्तामोड । प्रदेशको नाम खारेजीको माग राख्दै आन्दोलनरत पहिचानवादी राजनीतिक दलहरुले झापामा १ हजार ५०१ सदस्यीय युवा दस्ता गठन गरेका छन् । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा युवा दस्ता गठन भएको हो ।

 

‘पहिचानका लागि युवा’ नारासहित युवा दस्ता गठन भएको उनीहरूले उद्घोष गरे । युवा दस्ताको संयोजकमा सामी पालुङवा चयन भएका छन् । सह-संयोजकमा सुमन सम्वाहाम्फे र कर्ण राजबंशी तथा सदस्य सचिवमा गौरिमान राई चयन भएका छन् ।

 

संयोजक पालुङवा लामो समयदेखि लिम्बुवान प्राप्तिको आन्दोलनमा सक्रिय युवा हुन् । राजनीतिक रुपमा खारिएका युवा नेतृत्वको युवा दस्ताले अघि सारेको आन्दोलन सफल बनाउन मदत पुग्ने बिश्वास पार्टीले लिएको छ ।

 

युवा गठनसँगै बिर्तामोडमा ¥याली र कोणसभासमेत आयोजना भएको थियो । कोणसभामा सम्बोधन गर्ने वक्ताहरुले प्रदेशको नाम कोशी खारेज गराएरै छोड्ने दावी गरेका थिए । कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत दलहरुको अगुवाईमा युवा दस्ता गठन भएको हो ।

 

पहिचानवादी दलहरुको गतिविधिलाई नजिकबाट नियालिरहेको प्रशासनले भने ठुलो संख्यामा प्रहरी परिचालन गरेको थियो । कार्यक्रम स्थलमा सयौं सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको थियो ।

 

युवा दस्ताले लाठी लिएर ¥यालीमा सहभागिता जनाएका थिए । हातमा लाठी र सञ्चारसेट बोकेका सयौं युवाहरुले बिर्तामोडको सिटी सेन्टरमा आयोजित दस्ता घोषणापछि प्रदर्शन गरेका थिए ।