झापा । कोसी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गरिएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको आह्वान गरिएको हो।

 

प्रदेश प्रमुख पर्शुराम खापुङले ६ दिनको समयसीमा दिएर संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन् । यो उपधाराअन्तर्गत जुनसुकै प्रदेशसभा सदस्यले पनि बहुमत (४७) पुर्‍याएर मुख्यमन्त्रीका लागि दाबी पेस गर्न सक्ने छन्।

 

मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठनका लागि प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई आगामी असोज २६ गते अपरान्ह ५ बजेभित्रमा दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता कार्की संविधानको धारा १६८ को उपाधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतामा भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले शनिबार विश्वासको मत परीक्षण नगरिकन पदबाट राजीनामा दिएका हुन् । परीक्षण गरेको भए पनि उनले विश्वासको मत पाउनसक्ने अवस्था थिएन।

 

कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना प्रदेशसभा सदस्य चाहिन्छ। एमालेका सभामुखबाहेक ३९ र एमालेसँगै गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग ६ जना प्रदेशसभा सदस्य थिए । त्यसो हुँदा एमाले–राप्रपा गठबन्धनका प्रदेशसभा सदस्यको संख्या ४५ मात्रै पुग्ने थियो।

 

गठबन्धन दल नेपाली कांग्रेससँग २९, नेकपा (माओवादी) केन्द्रसँग १३, नेकपा (एकीकृत समाजवादी)सँग ४ र जनता समाजवादी पार्टी (जसपा)सँग १ जना प्रदेशसभा सदस्य छन्। गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य पुग्छन्। तर, नयाँ सरकार गठनका बेला परिस्थिति कस्तो बन्छ भन्ने यकिन छैन।

 

गठबन्धनले नयाँ सरकार गठनका लागि राप्रपासमेतसँग सहकार्यको प्रयास गरिरहेको छ। तर, मुख्यमन्त्री को बन्ने भन्ने विषयलाई लिएर गठबन्धनभित्र हानथाप सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।