काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४औँ पटक कलेजो प्रत्यारोपण भएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उनलाई ३७ वर्षीया बुहारीले कलेजो दान गरेकी थिइन् ।

 

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सहिद प्रत्यारोपण केन्द्रमा कुल १४ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिए । पछिल्लो प्रत्यारोपणमा सघाउन भारतको लेकसोर अस्पतालका डा शिल्भाकुमार नागानाथम आएका छन् ।

 

उक्त केन्द्रमा २०७३ मङ्सिर २२ गते दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरका चिकित्सकहरूको प्राविधिक सहयोगमा पहिलोपटक कलेजो प्रत्यारोपण भएको थियो । त्यसपछि छिमेकी राष्ट्र भारतका विशेषज्ञ चिकित्सकहरूको सहयोगमा निरन्तरता पाउँदै आएको छ । केन्द्र नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो ।

 

नेपालमा पहिलोपटक मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुवात पनि यहीँबाट गरिएको थियो । डा श्रेष्ठले स्थापनाको ११ वर्षको अवधिमा एक हजार १३७ जनाको मिर्गौला र १४ जनाको कलेजो प्रत्यारोपणसमेत गरेको जानकारी दिए । कलेजो प्रत्यारोपणका लागि कम्तीमा १५ लाख रुपियाँ खर्च हुने बताइएको छ ।

 

डा श्रेष्ठले मुलुक केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको बताए । उनले संसारमै सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता वृद्धि हुँदै आएको छ ।

 

केन्द्रले अङ्गदान गर्न र मस्तिष्क मृत्युपश्चात प्राप्त हुने अङ्ग प्रत्यारोपण कार्य प्रवद्र्धन गर्न सबैमा अनुरोध गर्दै प्रतीक्षाको सूचीमा नाम लेखाउनसमते अनुरोध गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।