बिर्तामोड । यसवर्ष झापामा दादुरा रुबेला खोप अभियान फागुन १७ गतेदेखि सञ्चालन गरिने भएको छ । आज सञ्चारकमीहरुसँग अभूमूखिकरण गोष्ठी गर्दै स्वास्थ्य कार्यालय झापाले जनाएको हो ।

 

सञ्चारकर्मीले यस अभियानमा भ्रामक समाचार सम्प्रेषण गर्न नहुने, लक्षित समुदायलाई अभियानमा सरिक गर्न उत्प्रेरित गर्ने, प्रचार प्रसार गरी अभियानलाई सफल पार्न मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

 

राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य, उद्देश्य, अवस्था, चुनौति, दादुरा-रुबेला खोप अभियानको औचित्य, संचालन रणनीति, जिल्लाको तयारी अवस्थाबारे जानकारी, अभियानसम्बन्धि समुदायसम्म प्रचार प्रसार गर्ने, दादुरा-रुबेला खोप अभियानबारे भ्रामक समाचार खण्डन गर्ने गराउने बिषयमा जानकारी एवम छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश बाह्रकोटीले जानकारी दिए ।

 

विगतदेखि खोप छुट समुदाय पहिचान र खोप पूरा गर्ने, विद्यालय, समुदाय, सरोकारवालाहरुको सहभागितामा सहयोग र परिचालनलगायतका दायित्व पूरा गर्न फागुन १७ गतेदेखि खोप अभियान शुरु गरिने गोष्ठीमा जानकारी दिइएको छ ।

 

झापा गाउँपालिकामा ६ जना, बिर्तामोड र दमकमा १-१ जना दादुराको रोगी भेटिएपछि यसवर्ष झापामा प्रभावकारीरुपमा अभियान सञ्चालन गर्ने तयारी स्वास्थ्य कार्यालयले गरेको जनाइएको छ ।

 

५ वर्षमुनिका बालबालिकाहरुको नियमित खोप अवस्था पहिचान गरेर छुट नियमित खोपको मात्रा समेत लगाएर पूर्ण खोप सुनिश्चित गर्ने अभियानको लक्ष्य छ । दादुरा खोपको महत्वबारे जनचेतना अभिबृद्धि गर्न र सञ्चारकर्मीहरुमार्फत प्रचारप्रसार गरेर लक्षित उमेर समूहका बालबालिकालाई अभियानमा खोप लगाउन सहयोग पुग्ने अपेक्षाका साथ सञ्चारकर्मीसँग गोष्ठी गरिएको जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए ।

 

जिल्लाको ९४० खोप केन्द्रमार्फत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने पाठकले जानकारी दिए । झापामा ६९ हजार २९९ पाँच वर्षमुनि र पाँच वर्षदेखि १५ वर्षमुनिका २ लाख ४५ हजार १११ जना बालबालिका रहेको जानकारी दिइयो ।

 

गोष्ठीमा स्वागत तथा कार्यक्रमको उद्देश्माथि प्रकाश स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाह्रकोटीले पारेका थिए । सन् २०२६ सम्ममा झापालगायत २४ जिल्लालाई दादुरा निवारण गर्ने सरकारको लक्ष्यअनुरुप अभियान थालिएको हो ।

 

कनकाई नगरपालिकाबाट फागुन १७ गते शुरु हुने अभियान चैत्र ४ गते दमक नगरपालिकामा समापन हुने अभियानले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेल, स्वास्थ्य कार्यालय झापाकी डा संगीता शाहलगायतले अभियानका विषयमा आआफ्ना भनाइ राखेका थिए ।

 

खोपका कारण कुनै कुनै बालबालिकामा सामान्यदेखि गम्भीरसम्मका अवाञ्छित घटना देखिनसक्ने भए पनि त्यस्तो संख्या अत्यन्त न्यून हुने जानकारी दिइएको छ । त्यस्तो अवस्था आए त्यसको व्यवस्थापनका लागि सम्पूर्ण संयन्त्र तयार राखिने बताइएको छ ।