सांकेतिक फाइल तस्वीर ।

झापा । झापाको शिवसताक्षी नगरपालिका क्षेत्रमा जुवा खेलिरहेका १२ जना व्यक्तिलाई नगदसहित प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी ११ स्थित नहरचौकमा प्रहरीले छापामा मारेको हो ।

 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार मध्यरातमा शिवसताक्षी नगरपालिका ११ स्थित नहरचौकका ४७ वर्षीय चेतन दुलालको घरमा छापा मारेको थियो ।

 

दुलालको घरमा कौडा खेलिरहेका घरधनी दुलालसहित शिवसताक्षी ९ का ४७ वर्षीय पूर्णकुमार लिम्बू, सोही ठाउँका २६ वर्षीय मोहन दुलाल, ४५ वर्षीय लोकनाथ दुलाल, शिवसताक्षी १० का ३६ वर्षीय रविन राई, ३३ वर्षीय नवीन सेलिङ र ३१ वर्षीय बुद्वहाङ सिगु पक्राउ परेको जिप्रका झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

 

त्यस्तै शिवसताक्षी ७ का ४२ वर्षीय खडीबहादुर श्रेष्ठ, ३७ वर्षीय शिवोराज माबो, ५५ वर्षीय मोहनप्रसाद दुलाल, शिवसताक्षी ४ का २२ वर्षीय राजेशकुमार ताजपुरिया पक्राउ परेको प्रहरी निरीक्षक गिरीले बताए ।

 

प्रहरीले जुवास्थलबाट नगद ६६ हजार ६५ रुपैयाँ, १६ थान कौडा, कौडा खेलाउँदा प्रयोग भएको म्याट, काठको फ्रेम र ११ थान मोबाइल बरामद गरिएको प्रहरी निरीक्षक गिरीले बताएका छन् ।