शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाका १५ वर्षमुनिका १८ हजारभन्दा बढी बालबालिकालाई यसपटक दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।
अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले आज आयोजना गरेको दादुरा रुबेला खोप अभियान २०८० अन्तर्गत नगरस्तरीय खोप समन्वय समिति अभिमुखिकरण गोष्ठीमा उक्त जानकारी दिइएको हो ।
स्वास्थ्य शाखाका अनुसार ५ वर्षमुनिका ५ हजार २५२ जना र ५ वर्षमाथि १५ वर्षमुनिका १२ हजार ९३९ जना बालबालिकालाई खोप लगाइने तयारी गरिएको छ ।
अर्जुनधारा नगरपालिकाका ११ वटा वडामा रहेका स्वास्थ्य केन्द्र र विद्यालयमा गरी ६४ वटा खोप केन्द्र निर्धारण गरिएको छ । जसमा १८ हजार १९१ जना बालबालिकालाई खोप लगाइने छ ।
फागुन २० गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २२ जना स्वास्थ्यकर्मी, ६४ खोप केन्द्रमा ३ जनाका दरले ९ दिन स्वास्थ्य स्वयंसेवक परिचालन हुनेछन् ।
अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा भएको गोष्ठीमा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले अभियानको लक्ष्य, उद्देश्य, चुनौती, सम्भावना र वर्तमान अवस्थाका बारेमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा ६, ७ र ११ नम्बर वडाका अध्यक्षहरु हरिषचन्द्र बाँस्तोला, गोविन्द खतिवडा, खगेन्द्र इङनाम, विषयगत समितिका संयोजक तथा जनप्रतिनिधिहरु, नगरका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाललगायतको सहभागिता रहेको थियो ।