शनिश्चरे । ५१औं सुखानी शहीद स्मृति दिवसको सन्दर्भमा आयोजित झापा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा गौरादह कृषि क्याम्पस प्रथम भएको छ ।

 

अर्जुनधारा ९ स्थित सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिद्वारा शुक्रबार आयोजित झापा जिल्लास्तरीय वकतृत्वकला प्रतियोगितामा गौरादह कृषि क्याम्पस प्रथम भएको हो ।

 

झापा र इलामका १३ वटा क्याम्पसको सहभागिता रहेको प्रतियोगितामा मेची बहुमुखी क्याम्पस द्वितीय, वीरेन्द्र नमूना क्याम्पस तृतीय र इन्द्रचन्द क्याम्पस सान्त्वना भएको उद्यानका व्यवस्थापक रुद्रमण सुवेदीले जानकारी दिए ।

 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने क्याम्पसले नगद पुरस्कार क्रमशः ११ हजार, सात हजार, पाँच हजार र तीन हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

 

समितिका अध्यक्ष टंकनाथ बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष अर्जुन राई, उपाध्यक्ष टंकप्रसाद भट्टराईलगायतले विजेता क्याम्पसका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

 

सोही कार्यक्रममा बिहीबार आयोजित माविस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा शनिश्चरे मावि प्रथम भएको थियो ।

 

‘लोकतन्त्र प्राप्तिका लागि शहीदको योगदान’ विषयक वक्तृत्वकला प्रतियोगिताका निर्णायकमा चुँडामणि वशिष्ठ, जीवनाथ सुवेदी र देवीमाया प्रसाईं थिए । समितिका सदस्य एवम् कार्यक्रम संयोजक कमल गुरागाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन उद्यानका व्यवस्थापक सुवेदी र पत्रकार उमाकान्त खनालले गरेका थिए ।