बिर्तामोड । झापाको बिर्तामोड ६ स्थित बुट्टाबारीबाट इलामका दुई युवती र बिताएमोडका एक युवा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

 

बुट्टाबारीस्थित मानबहादुर लिम्बूको घरमा लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचना पाएपछि अस्थायी प्रहरी चौकी बुट्टाबारी इन्चार्ज सरोज थापासमेतको प्रहरी टोलीले घरको कोठाभित्र खानतलासी लिएको थियो ।

 

प्रहरी चेकजाँचका ईलाम सन्दकपुर ४ घर बताउने अन्दाजी २५ वर्षीया बबिता गुरुङको साथबाट ३ ग्राम ३१० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

निजको साथबाट ६ हजार ९ सय पनि फेला परेको थियो । सोही कोठाबाट ईलाम नगरपालिका २ घर भएकी अन्दाजी २० वर्षीया पुर्णिमा गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, उनको साथबाट केही फेला नपरेको प्रहरीको भनाइ छ ।

 

सोही घरका अन्दाजी २१ वर्षीय मनिष लिम्बूको साथबाट ९ ग्राम ६४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । निजको साथबाट २ थान मोबाइल, २ हजार ९५० फेला परेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिप्रका झापाले जनाएको छ ।