मोरङ । पथरीशनिश्चरे ७ मा सोमबार बेलुका एक बालिकाको विभत्स हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति १०ः१७ बजे १५ वर्षीया ज्ञानमती थुलुङ राईको हत्यामा संलग्नको पहिचान जुत्ताको डामबाट भएपछि पक्राउ गरिएको हो ।

 

प्रहरीले संलग्न मोरङ ग्रामथान घर भइ बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका बस्दै आएका ३८ वर्षीय धीरेन कुमार खाँ चौधरीलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

 

उनलाई मंगलबार बिहान २ः३० बजे बेलबारी भाउन्नेस्थित जंगलबाट पक्राउ गरिएको जानकारी दिइएको छ । प्रहरीले उनलाई मंगलबार सार्वजनिक गर्दै घटनामा उनको संलग्नता रहेको दाबी गरेको छ । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनास्थल पुगेको देखिएका चौधरीको ‘फुट प्रिन्ट’ मिलेको बताए।

 

घटनाको पृष्ठभूमिमा सामाजिक सञ्जालमार्फत जोडिएर प्रेममा सम्बन्ध विकास भई वैमनस्यता कारण बनेर जोडिएको देखिएको छ । चौधरी कुवेत बसेर फर्किएका हुन् । बालिका र उनको कुवेत हुँदादेखि दुईवर्ष पहिलेदेखि कुराकानी भएको देखिएको प्रहरीको दाबी छ ।

 

गत असार १३ गते चौधरी र बालिकालाई रानीबाट माइती नेपालको सहयोगमा घर फर्काइएको थियो । उनीहरु भारत जान लागेका बेला रानी नाकाबाट फर्काइएको थियोे । चौधरीकी श्रीमती कतारमा रोजगारीमा रहेको र १४ वर्षीया छोरा आमासँग छोडेर तीन दिन अगाडि बाराबाट मोरङ आएको देखिएको छ।

 

यद्यपी उनी ग्रामथान मोतिपुरमा रहेको मुलघर गएका थिएनन् । प्रहरीका अनुसार उनले बालिकालाई सम्पर्क गरेर आएको देखिएको छ । तर, सामाजिक सञ्जालमा सम्पर्क डिलिट गरिएको देखिएको छ । घटनापछि उनले मोबाइल स्वीच अफ गरेको अवस्थामा राखेका थिए ।

 

उनले बालिकालाई खुकुरी हानेको देखिन्छ । तर, हतियार भेटिएको छैन । दापका आधारमा हतियारको प्रकार अनुमान गरिएको हो । तर, खुकुरी चलाउने अभ्यास तराईमा कम हुने र पहाडी क्षेत्र, त्यसमा पनि जनजाति समुदाय बढी प्रचलनमा प्रयोग गर्ने गर्दछन् ।

 

प्रहरीले घटनापछि चारैतर्फका नाका थुनेर कुकुरसहितको टोलीले संलग्न खोजेको जानकारी दिएको छ । त्यसक्रममा भाउन्नेको जंगलमा चौधरीलाई भेट्दा उनीसँग घटनास्थल पुगेको प्रमाण खुल्ने हुलिया देखिया थियो । प्रहरी उपरीक्षक कार्कीले घटनाको थप अनुसन्धान भएपछि घटनासँग बाँकी विषय जानकारी गराउने बताएका छन् ।

 

बालिका खोटाङ ऐसेलुखर्क ६ सल्ले घर भई हाल पथरीमा मामाको छोरा दाजुको घरमा बसेर पञ्चायत मावि कक्षा ७ मा अध्ययनरत थिइन् ।