धादिङ । धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ३५ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको छ ।

 

कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु. २ ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ ।

 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिलासहित ६ जनाको शव फेला परेको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।

 

त्रिशुली नदीमा बस छतमात्रै देखिएको अवस्थामा डुबेको छ । दुर्घटनापछि घाटबेँसीका स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय गजुरी, सशस्त्र प्रहरीलगायतले घाइतेहरुको उद्धार गरेका छन् ।

 

सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा खटिएको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको उज्यालाे अनलाइनमा समाचार छ ।