विराटनगर । यहाँ जारी आठौँ विराट गोल्डकपमा पाहुना टोली सिक्किम ड्रागन्सलाई पराजित गर्दै मच्छिन्द्र एफसी फाइनलमा प्रवेश गरेको छ ।

 

आज भएको अन्तिम सेमिफाइनलमा सिक्किमलाई १-० गोलले पराजित गर्दै मच्छिन्द्रले फाइनल यात्रा तय गरेको हो । मच्छिन्द्रको फाइनल यात्रा खेलको इन्जुरी समयमा गोलपछि भएको हो ।

 

मच्छिन्द्रका लागि निर्णायक गोल आयुश घलानले गरेका हुन् । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । तर, मच्छिन्द्रले इन्जुरी समयमा बाजी मार्न सफल भयो ।

 

मनिष डाँगीको क्रस पासमा आयुश घलानले गोल गर्न सफल भएका हुन् । उनको निर्णायक गोल नै मच्छिन्द्रका लागि फाइनलमा स्थान बनाउन सफल बन्यो ।

 

अन्तिम सेमिफाइनल खेलको म्यान अफ दी म्याच मच्छिन्द्र एफसीका आयुश घलान भए । उनले नगद ११ हजार पाएका छन् । फाइनल खेलमा मच्छिन्द्र एफसीले घरेलु टोली मोरङको सांग्रिला एफसीले भिड्ने छ । फाइनल खेलको विजेताले नगद ११ लाख पाउने छ ।