शनिश्चरे । झापाको अर्जुनधारा नगरका करिब ८६ हजार जनालाई यसवर्ष हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।

 

हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन अभियानअन्तर्गत नगरका ८५ हजार ८२४ जनालाई यसपटक औषधि खुवाइने लक्ष्य रहेको छ । अभियानअन्तर्गत यही वैशाख १६ देखि २४ गतेसम्म औषधि खुवाउन स्वास्थ्यकर्मी तथा स्वयंसेविका घर घर आउनेछन् ।

 

अभियान सफल बनाउन आज नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको नगरस्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा ‘यो वर्ष अन्तिम पटक’ नाराका साथ औषधि खुवाउन लागिएको जानकारी दिइयो ।

 

स्वास्थ्य कार्यालय झापाका प्रकाश पाठकका अनुसार झापा जिल्ला कोशी प्रदेशकै एकमात्र हात्तीपाइले रोग निवारण हुन नसकेको जिल्ला हो । त्यसमध्ये अर्जुनधारा नगरपालिका कम प्रगति पालिकामध्ये तेस्रोमा पर्दछ ।

 

यसपटक ११ वटै वडामा एकै समयमा वडा कार्यालय वा विद्यालयमा जनप्रतिनिधिबाट हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेर सुरुवात गर्ने तालिका रहेको स्वास्थ्य शाखाका कर्मचारी मुकुन्द बस्नेतले जानकारी दिए ।

 

उनका अनुसार २ वर्षमुनिका बालबालिका, ७ दिने सुत्केरी, गर्भवती महिला र हिँडडुल गर्न नसक्ने दीर्घ रोगीलाई यसपटक औषधि खुवाइने छैन । यसवर्ष झापा जिल्लामा ९ लाख ९ हजारलाई औषधि खुवाइने लक्ष्य छ ।

 

एक अध्ययनअनुसार सहरी क्षेत्रमा बसोबास गर्ने, शिक्षित वर्ग, मजदुरी गर्ने पुरुषहरुले यो औषधि सेवन गर्न नमान्ने गरेका छन् । औषधि खुवाउने अभियानमा ३५ जना स्वास्थ्यकर्मी र ३५ जना स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् ।

 

नगरकी उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष, वडा सदस्य, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।