झापा । प्रदेश १ मै पहिलोपटक झापाको अर्जुनधारा नगरपालिकामा अत्याधुनिक भेटेनरी अस्पताल निर्माण हुने भएको छ । अर्जुनधारा ९ स्थित पशुपंक्षी तथा मत्स्य विकास शाखा कार्यालय परिसरमा आज अस्पतालको शिलान्यास गरिएको हो ।

 

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले पशु अस्पताल भवनको शिलान्यास गरेका हुन् ।
पशुलाई अस्पतालमै लगेर उपचार गर्न सकिनेखालको अस्पताल प्रदेश १ मै पहिलोपटक अर्जुनधारामा निर्माण गर्न लागिएको नगर प्रमुख गोम्देनले दाबी गरेका छन् ।

 

नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा अस्पताल निर्माण शुरु गरेको उनले बताए । नगर प्रमुख गोम्देनले निर्माण हुने अत्याधुनिक मेसिनसहितको भेटेरीनरी अस्पतालबाट छिमेकी पालिकासहित प्रदेशका पशुपालक किसानले सेवा लिन सक्ने बताएका छन् ।

 

अर्जुनधारा नगरको पशुपन्छी तथा मत्स्य विकास शाखाअन्तरगत पशुलाई प्राविधिक तथा गुणस्तरीय सेवा दिने उद्देश्यले अस्पताल भवन निर्माण शुरु गरेको शाखा प्रमुख पदम राईले जानकारी दिए । उनका अनुसार अस्पतालमा पशुका लागि भिडियो एक्सरे, अप्रेशन थिएटर, ओपिडी सेवा, पोष्टमार्टमलगायतका सम्पूर्ण सेवा दिइनेछ ।

 

उक्त निर्माणाधीन अस्पताल ५ कठ्ठाको क्षेत्रफलमा निर्माण हुने बताइएको छ । कार्यक्रममा स्थानीय डिल्लीराम दाहालले नगरमा पशुका लागि निर्माण हुने भेटेनरी अस्पतालबाट स्थानीय कृषका लागि ठूलो राहत हुने भन्दै खुसी ब्यक्त गरे ।

 

शिलान्यास कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, आर्थिक विकास समितिकी संयोजक गौरीमाया चिमरिया, अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनाम, कार्यपालिका सदस्य भोला परियार, मुना खत्री, सन्तोष मेचे, ११ नम्बर वडाका सदस्य सीता कडेललगायतको उपस्थिति थियो ।

 

नगरको बहुवर्षीय योजनाअन्तरगत निर्माण हुन लागेको उक्त अस्पताल चार करोड १० लाख रुपैयाँको डिपिआर निर्माण गरिएको छ । अस्पताल १ करोड ७७ लाख २३ हजार ३३३ रुपैयाँ ३० पैसामा निर्माणका लागि ठेक्का लागेको नगरले जनाएको छ ।

 

अर्जुनधारा १ को साइमन-नुमा-शेर्पा जेभी कम्पनीले २०८१ वैशाख १६ गते निर्माण जिम्मा लिएर २०८१ पुस १५ गतेसम्ममा अस्पताल भवन निर्माण सम्पन्न गर्ने गरि ठेक्का लागेको छ । निर्माण ब्यवसायी विजय सेन्दाङले आफू स्थानीय भएकाले सकेसम्म समयमै निर्माण सम्पन्न गर्ने गरी कार्य गर्ने बताएका छन् ।