झापा । साइबर अपराधमा पक्राउ परेका बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई एक लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् ।

 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश खरेलले दुई वटा मुद्दामा ५०/ ५० हजार धरौटीमा छाड्न आदेश दिएको साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ।

 

प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुई वटा साइबर अपराधको मुद्दा दायर भएको थियो । प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियो भने सामाजिक सञ्जालमार्फत चरित्र हत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।

 

मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो । उनलाई गत असोज ६ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।