झापा । कनकाई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।

 

अन्तिम मतपरिणाम अनुसार ४९३ मत ल्याई उनी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार तुलाराम बस्नेतले ३५६ मत ल्याएका छन् ।

 

यसैगरी, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७, माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ र राप्रपाका नारायण निरौलाले २६, नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ६ मत ल्याए ।

 

यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका पदमबहादुर तामाङले २०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दलबहादुर श्रेष्ठले २ र जनमत पार्टीका शुकलाल राजबंशीले ९ मत ल्याएका छन् । कुल १५१३ मत खसेकोमा १५०६ मत सदर भएको थियो ।

 

वडाध्यक्षमा निर्वाचित ओली २०७९ सालको स्थानीय तहको निर्वाचनका उपविजेता हुन् । त्यतिबेला एमालेका दीर्घबहादुर थापा ५०८ मत ल्याएर निर्वाचित हुँदा स्वतन्त्र उम्मेद्वारी दिएका ओलीले ४४० मत ल्याएका थिए ।

 

त्यसअघि २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार इन्द्रप्रसाद नेपाललाई फराकिलो मतान्तरले पाखा लगाएर नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार बनेका ओली त्यस वडाको वडाध्यक्षमा विजयी बनेका थिए ।