
अर्जुनधारा । झापा भद्रपुरकी एलिसा चाम्लिङले अर्जुनधारामा आयोजित खुल्ला नृत्य प्रतियोगिताको उपाधि जितेकी छन् ।
नयाँ वर्ष २०८२ को अवसरमा अर्जुनधारा ८ नम्बर वडा कार्यालयको समन्वयमा स्थानीयस्तरमा रहेका प्रतिभाहरुको पहिचानसँगै नेपाली नृत्य परम्परालाई जीवित राख्ने उद्देश्यले ए वान डान्स एकाडेमीले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा मोरङको विराटनगरस्थित विराट कला समूह द्वितीय, अर्जुनधारा ५ निवासी सुसना कोइराला तृतीय र कृष्ण धिमाल सान्त्वना भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई क्रमशः नगद ५१ हजार, २१ हजार र ११ हजारसहित ट्रफी र प्रमाण पत्र तथा सान्तवना हुने सहभागीलाई स्मार्ट वाच प्रदान गरिएको छ ।
एकाडेमीका सञ्चालक अशोक धिमालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तिलचन पाठक ‘चिन्तन’, वडाध्यक्ष कुमारप्रसाद उप्रेती, वडा सदस्य मनोज थापा मगर, सभाध्यक्ष धिमाललगायतले उक्त पुरस्कारहरु वितरण गरेका थिए ।
काठमाण्डौंका देवराज गुरुङ, सुनसरीका नगेन्द्र राई र छिमेकी देश भारतका सुवोल पल निर्णायक रहेको प्रतियोगितामा सहभागीहरुले एकल, युगल र सामूहिकसहित ५२ वटा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा झापासहित संघीय राजधानी काठमाण्डौं, मोरङ, सुनसरी, इलाम, पाँचथरलगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा अग्रज नृत्य कलाकारहरु अशोक कुर्मी, कृष्णबहादुर तामाङ “डिस्को” र गणेश ढुंगानालाई नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।
वडाध्यक्ष उप्रेतीले प्रतियोगिताको औचित्यसहित स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मीद्वय सरोज पौडेल र सुनिता तामाङले गरेका थिए ।