बिर्तामोड । झापाको कनकाई नगरपालिकाबाट हवाई फायर गरेर प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । ब्राउनसुगर काराेबारी भने फरार रहेकाे प्रहरीले जनाएकाे छ ।

 

झापाको कनकाई ५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा शरणामतीबाट सुरुङ्गातर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ भारतीय नम्बरको बुलेट मोटरसाइकलमा रहेको झोलाबाट अन्दाजी २०४ ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको हो । काराेबारी भारतीय नागरिक हुनसक्ने अनुमान गरिएकाे छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार उक्त भारतीय नम्बरको मोटरसाइकललाई प्रहरी टोलीले आज बिहान अन्दाजी ८ः४० बजे रोक्न खोज्दा चालकले मोटरसाइकल र झोला छाडेर फरार भएका थिए ।

 

प्रहरी टोलीलाई देख्नासाथ फरार भएका मोटरसाइकल चालकलाई रोक्न खोज्दा ३०३ नम्बर राइफलबाट दुई राउण्ड हवाई फायर गरिएको प्रवक्ता खड्काले बताए । बरामद प्लाष्टिकसहित २०४ ग्राम ब्राउनसुगर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।