ताप्लेजुङ । पाहुना टोली पोखराको सहारा क्लबमाथि स्पष्ट जित निकाल्दै झापा बिर्तामोडको जोया रेड स्टार फुटबल क्लब यहाँ जारी ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

गण्डकी प्रदेशबाट पूर्व भ्रमणमा निस्किएको सहारा क्लब झापाली टोलीसँग पहिलो खेलमै २-० गोलले स्तब्ध बनेको हो । भानुजन माविको मैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा झापाका लागि दुवै गोल सविन लुङ्गेली मगरले गरेका हुन् ।

 

पहिलो हाफ गोलरहित बने पनि खेलको ७७औँ मिनेटमा सविनले उत्कृष्ट गोल गरेका हुन् । परिवर्तित खेलाडी रोशन ठकुरीको पासमा सविनले गोल गरेका हुन् ।

 

 

यसैगरी, खेलको ९२औँ मिनेटमा पाएको पेनाल्टीमा सविनले नै गोल गर्दै अग्रता दोब्बर बनाए । दुई गोल गरेका सविन प्लेयर अफ दि म्याच घोषितहुँदै नगद ७ हजार पाउन सफल भए ।

 

लाखे जात्रा सञ्चालन समितिले प्रतियोगिता आयोजना गरेको गोल्डकप विजेताले नगद ७ लाख २ हजार ८२ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी पाउनेछ ।

 

सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल दिइेने आयोजकले जानकारी दिएको छ । सोमबार चर्च ब्वाईज युनाइटेड काठमाण्डौले लिजेण्ड फुटबल एकेडेमी सिलिगुडी भारतको समाना गर्नेछ ।