शनिश्चरे । झापाको अर्जुनधारामा वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक गोलधाप युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
‘युवाहरुको साझा आवाज, लागूऔषध रहित समाज’ भन्ने मुख्य नारासहित यही भदौ २७ गतेदेखि दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरीय भेट्रान्स फुटबल प्रतियोगिता हुने क्लबका अध्यक्ष सुरेन राईले जानकारी दिए ।
अर्जुनधारा नगर खेलकुद विकास समितिका सल्लाहकार वीरबहादुर राईको प्रमुख आतिथ्यमा आइतबार आयोजित पत्रकार भेटघाटमा प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले ३१ हजारसहित ट्रफी प्राप्त गर्ने अध्यक्ष राईले बताए ।
असोज ६ गते सम्पन्न हुने प्रतियोगिताको प्रथम पुरस्कार मचिन्द्र सुब्बाका परिवारबाट सौजन्य हुने उनका भाइ एवम् अर्जुनधारा नगरसभा सदस्य बुद्धिमान लिम्बूले जानकारी दिए ।
स्थानीय नमूना खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र उत्कृष्ट प्रशिक्षकले जनही नगद पुरस्कार दुई हजार पाँच सय तथा प्रत्येक खेलको प्लेयर अफ दी म्याच बन्ने खेलाडीले नगद एक हजार पाउने छन् ।
४० वर्षमाथि उमेर समूहका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा तीन जना भने ३५ वर्षमाथि उमेर समूहका खेलाडी सहभागी हुनसक्ने बताइएको छ । अर्जुनधारा नगरपालिकामा ११ वटा वडा रहेका छन् ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित तीन लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । क्लबका सचिव भूपाल कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सल्लाहकार किरण राईले गरेका थिए ।