खुदुनाबारी (झापा) । झापाको अर्जुनधारा १ स्थित मदनपुरमा यसवर्ष पनि मौलिकरुपमा चासोक तङनाम (उधौली पर्व) मनाइने भएको छ ।

 

स्थानीय मदनपुर सांस्कृतिक खेलमैदानमा पाँच दिने चासोक तङनामको कार्यक्रम रहेको आयोजक चासोक तङनाम व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

 

कार्यक्रमअनुसार मंसिर १८ गते उधौली पर्वको दिन मौलिक खेलसहित सांस्कृतिक कार्यक्रम आयोजना गरी चासोक तङनाम मनाइँदैछ । मंसिर १७ गते गाली श्राप बगाइने, उधौली पूजाआजा गरिने र फुटबल खेलकाे फाइनल खेल तय भएको आयोजक समितिका अध्यक्ष राजेश जवेगुले जानकारी दिए ।

 

उनका अनुसार मंसिर १४ गतेदेखि नै फुटबल खेल आयोजना गरिँदैछ । अर्जुनधारा नगर क्षेत्रमा रहेका ६ वटा र इलामका २ वटा सामुदायिक वन समूहबीच फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।

 

कार्यक्रमअनुसार मदनपुर सांस्कृतिक खेलमैदानको प्रवेशद्वार मौलिकरुपमा निर्माण गरिने समितिका उपाध्यक्ष विजय सेन्दाङले बताए । यसैगरी, विगतमा स्थापना गरिएको सिलाम साक्माको प्रतिमाको जग पक्कीरूपमा स्तरोन्नति गरिने भएको छ ।

 

यसैगरी, च्याब्रुङ नाच, महिला-पुरुषतर्फ छेलो हान्ने, डोरी तान्ने, हाँडी फुटाउने परम्परागत खेल प्रतियोगिता पनि सञ्चालन गरिने बताइएको छ । यस्तै, मौलिक तरिकाको पाहुना घरहरु निर्माण गरिने भएको छ ।

 

फुटबल प्रतियोगितासहित चासोक तङनाम सम्पन्न गर्न आयोजकले पाँच लाख ७० हजार खर्च हुने अनुमान गरेको जनाइएको छ । अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलन समितिकी कोषाध्यक्ष सर्मिला सुब्बाले सञ्चालन गरेकी थिइन् ।