ताप्लेजुजुङ । झापाको न्यू स्टार क्लब तेल्लोकमा जारी पाँचौ सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

स्थानीय तेल्लोक माविको खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा वाइवाइ पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै न्यू स्टार झापाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

निर्धारित खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । खेलमा सुरुवाती अग्रता न्यू स्टारले लिएको थियो । जसमा विदेशी खेलाडी रिचार्ड विल्सनले खेलको १६औँ मिनेटमा गोल गरेका हुन् ।

 

बराबरी गोल गर्दै खेलमा फर्किन पाँचथरलाई ६४औँ मिनेट पर्खिनु परेको थियो । जसमा निरोज लिङदेनले सम्झनलायक गोल गरेका थिए । तर, टाइब्रेकरको नतिजा अनपेक्षित रह्यो ।

 

टाइब्रेकरमा गोलकिपर मिराक खजुम र प्रकाश धमलाको प्रहार बाहिरिएपछि पाँचथर स्तब्ध बनेको हो । सुशन लिम्बू, निरोज लिङदेन र मनिष क्षेत्रीको प्रहारमात्र गोलमा परिणत भएको थियो ।

 

विजेता टिम झापाका लागि विक्रम तामाङ, निरज परियार, राजेश साह र रिचार्डको प्रहार गोलमा पुरिणत हुँदा अर्का विदेशी खेलाडी अजय मार्टिनको प्रहार पाँचथरका गोलकिपर मिराक खजुमले रोकेका थिए ।

 

खेलको प्लेयर अफ दी म्याच झापाका रिचार्ड विल्सन भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे । भोलिको खेल मरिक एफसी धरानले भारत सिलिगुडीको पारिजात फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ ।

 

गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ ।

 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५-५ हाजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताए ।