ताप्लेजुङ । भारतको पाहुना टोली पारिजात फुटबल संघ सिलिगुडीलाई पराजित गर्दै धरानको मरिक एफसी यहाँ जारी पाँचौँ सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तेल्लोक माविको खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा धरानले ३-१ गोलअन्तरमा भारतीय टोलीलाई पराजित गरेर अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
१-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै धरानले जित दर्ता गर्दा ३ वटै गोल विदेशी खेलाडीले गरेका हुन् । खेलको ४ मिनेटमै सिलिगुडीका अनुष राईले गोल गरेर अग्रता दिलाएका थिए ।
तर, धरानका विदेशी खेलाडी नानाले ३७औँ मिनेटमा बराबरी गोल गरे । पहिलो हाफकै ४६औँ मिनेटमा फोफोनाले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् ।
प्लेयर अफ दी म्याच बनेका धरानका फोफोनाले ७४औँ मिनेटमा थप गोल गरेर जित सुनिश्चित गरे । प्लेयर अफ दी म्याचवापत फोफोनाले २ हजार ५ सय प्राप्त गरे ।
भोलिको अन्तिम क्वाटरफाइनल खेल धनकुटाको साँघुरीगढी एफसी र तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबबीच हुनेछ । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद ३ लाख ३२१ र उपविजेताले एक लाख ५० हजार ३२१ सहित ट्रफी पाउने छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५-५ हाजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताए ।