ताप्लेजुङ । आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई रोक्दै धरानको मरिक एफसी यहाँ जारी पाँचौ सिरिजङ्गा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
तेल्लोक माविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक तेल्लोकलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै धरान उपाधि होडमा उक्लिएको हो ।
निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । सुरुवाती अग्रता आयोजक तैल्लोकले लिएको थियो । तेल्लोकका लागि खेलको ६०औँ मिनेटमा दिपेश लिङखिमले गोल गर्दै अग्रता दिलाएका हुन् ।
तर, ६९औँ मिनेटमा पाएको फ्रिकिकबाट धरान खेलमा फर्कियो । सुशिल राईले प्रहार गरेको फ्रिकिकमा विदेशी खेलाडी फोफोनाले फ्रि हेडर गोल गरेका हुन् । धरानका सुशील राई प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार ५ सय पाउन सफल भए ।
टाइब्रेकरमा तेल्लाेकका सुनियाेजित यक्साे र सविन लिम्बूकाे प्रहारमात्र गाेलमा परिणत भयाे भने शिशिर राईकाे प्रहार बाहिरिँदा दिपेश लिङखिमकाे प्रहार धरानका गाेलरक्षक निशान मगरले राेकेका थिए । यस्तै, धरानका लागि अशाेक खवास, फाेफाेना, सशिल राई र विनाेद राईकाे प्रहार गाेलमा परिणत भएकाे थियाे ।
आठ टिम सहभागी रहेको गोल्डकपमा भोलि झापाको न्यू स्टार क्लब र तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबले फाइनल प्रवेशका लागि अन्तिम सेमिफाइनल खेल खेल्नेछ ।
फाइनल प्रवेश गरेसँगै धरानले कम्तिमा एक लाख ५० हजार ३२१ रुपैयाँ सुरक्षित गरेको छ । गोल्डकपको विजेताले नगद ३ लाख ३२१ सहित ट्रफी पाउने छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५-५ हाजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताए ।