ताप्लेजुङ । प्रतिस्पर्धात्मक खेलमा साँघुरो जित निकाल्दै झापाको न्यू स्टार क्लब यहाँ जारी पाँचौ सिरिजङ्गा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

तेल्लोक माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो ।

 

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । तर, खेलको ६६औँ मिनेटमा झापाका लागि विदेशी खेलाडी रिचार्ड विल्सनले गरेको गोल नै निर्णायक बनेको हो । उनी खेलको प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार ५ पाउन सफल भए ।

 

झापाले जित दर्ता गरेसँगै भोलि हुने उपाधि भिडन्तमा सुनसरीको मरिक एफसीसँग भेट पक्का गरेको छ । गोल्डकप विजेताले नगद ३ लाख ३२१ रुपैयाँ पाउने छ भने उपविजेता बन्ने टिमले एक लाख ५० हजार ३२१ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।

 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५-५ हाजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताए ।