झापा । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार र गोलीगठ्ठा फेला परेको छ । शुक्रबार साँझ ५ बजे दमक १ स्थित रतुवा खोला किनारबाट उक्त हतियार बरामद भएको हो ।

 

प्रहरीका अनुसार दमक १ बुद्ध टोलस्थित रतुवा खोला किनारको काँसघारीमा बेवारिसे अवस्थामा हतियार तथा गोलीगठ्ठा स्थानीयले देखेर इलाका प्रहरी कार्यालयमा दमकमा जानकारी गराएका थिए ।

 

फेला परेका हतियार तथा गोलीगठ्ठामा म्याग्जिनसहितको इन्सास ३ थान, जंगी राउण्ड १३४ थान, एसएलआरको जंगी राउण्ड ५ थान र इन्सासको जंगी राउण्ड २० थान रहेका छन् ।

 

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा टोली खटिएर हेर्दा ती हतियार तथा गोलीगठ्ठा खिया लागेको अवस्थामा फेला परेको थियो । बरामद हतियार इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका १७ थान हतियार अझै गायब नै रहेको छ । २४ थान हतियार लुटेकोमा ७ थान हतियारमात्र भेटिएको छ ।