फाइल तस्वीर । न्यूज सञ्जाल

शनिश्चरे । वर्षायाममा पटक पटक आएको बाढीले क्षतिग्रस्त विरिङ पुल निर्माण हुने भएको छ । झापादेखि इलामको दक्षिणी भेग जोड्ने शनिश्चरे-खुदुनाबारी सडकमा रहेको विरिङ खोलाको पुल निर्माण हुने भएको हो ।

 

लामो प्रतिक्षा र नेतृत्वको अथक प्रयासपछि अर्जुनधारा ७ स्थित विरिङ खोलाको पुल पुनःनिर्माणका लागि ३५ करोड रुपैयाँ बजेट संघीय सरकारबाट स्वीकृत भएको छ । सबैको चासोको विषय बनिरहेको विरिङ पुल बन्ने निश्चित भएको सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशवराज ढुंगेलले बताएका छन् ।

 

उनका अनुसार गतवर्ष असोज १२ मा आएको विपद् व्यवस्थापनतर्फबाट बजेट विनियोजन भएको हो । डिपिआरअनुसार विरिङ पुल दुई लेनको बन्नेछ भने १८० मिटर लम्बाइ रहने ढुंगेलले न्यूज सञ्जाललाई जानकारी दिए ।

 

यसैबीच, ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको उनको भनाइ छ । सुरूवातदेखि नै चासोका साथ प्रतिनिधिसभाका सभामुख घिमिरेले पुलको निर्माण कार्यमा पहल गर्दै आएका थिए ।

 

यसैगरी, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले पुल निर्माणका लागि सबै काम छोडेर लागिरहेका थिए । बाढीले पुल भासिएर दवेसँगै पुलबाट आवतजावत बन्द हुनुका साथै जनप्रतिनिधिहरु आलोचित बन्दै आएका थिए ।