झापा । झापा क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार केपी ओलीको चुनावी समाचार संकलन गर्न जाँदा पत्रकार अर्जुन आचार्यमाथि सांघातिक आक्रमण गर्ने मुख्य आरोपी ४५ वर्षीय युवराज पाठक पक्राउ परेका छन् ।

 

घटना भएको १५ दिनपछि आज बिहान प्रहरीले पाठकलाई नियन्त्रणमा लिएको हो । शिवसताक्षी नगरपालिका ४ स्थित बुलुचोकमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

झिलझिले चोकबाट झण्डै १० किलोमिटर टाढा आफन्तको घरमा बसेका पाठकलाई इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले बिहानै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको छ । फागुन १४ गते कमल गाउँपालिका ६ स्थित सार्वजनिक बाटोमा पत्रकारमाथि आचार्यमाथि उनले हमला गरेका थिए ।

 

अभद्र व्यवहार गरेको कसुरमा संलग्न पाठकलाई जिल्ला प्रशासन कार्यालय झापाबाट जारी पक्राउ पुर्जीका आधारमा आज इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले फेला पारेको डीएसपी गुरुप्रसाद तिम्सिनाले बताए ।

 

एमाले ओलीको निर्वाचन क्षेत्रमा ‘घरदैलो’ अभियानको समाचार संकलन गरिरहेका आचार्यमाथि गत फागुन १४ गते आक्रमण भएको थियो । एमाले निकट भ्रातृ संगठन ‘भोलेन्टियर्स फोर्स’ का सदस्यहरूले आचार्यलाई मुक्का र बुट प्रहार गरी घाइते बनाएका थिए ।