शनिश्चरे । वर्षायाममा हुनसक्ने सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै अर्जुनधारा नगरपालिकाको वातावरण शाखाले तीनदिने मनसुनजन्य विपद् प्रतिकार्य तथा पूर्व अभ्यास तालिम सञ्चालन गरेको छ ।

 

नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा आजदेखि सुरु तालिममा कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढीका प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठको नेतृत्वमा रहेको ८ जनाको टोलीले सहजीकरण गरिरहेका छन् ।

 

विशेष गरेर विपद्बारे जानकारी, प्राथमिक उपचार, बिरामी बोक्ने तरिका, आगोको परिचय र प्रकार, दमकलको प्रयोग, आगो निभाउने तरिका, वाटर रेस्क्यू, बोटबाट गरिने उद्दार र डोरीबाट गरिने उद्दार कार्यलाई प्राथमिकतामा राखेर तालिम प्रदान गरिने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

 

वर्षायाम सुरु भएसँगै अर्जुनधारा नगरपालिका क्षेत्रमा विशेष गरेर बाढी, आगलागी, डुबान र चट्याङलगायतका विपद् आउने गरेको छ । सम्भावित विपद्लाई मध्यनजर गर्दै तालिम सुरू गरिएकाे हाे ।

 

वातावरण शाखा प्रमुख सपना रिमालका अनुसार दुई दिन सैद्धान्तिक र एक दिन अभ्यास तालिम दिइने छ । सैद्धान्तिक कक्षा नगरकाे सभाहलमा भइरहेकाे छ भने अभ्यास सालबारी झिलमा गरिने बताइएकाे छ ।

 

तालिममा सामुदायिक वनका रक्षक, वडास्तरीय विपद् प्रतिकार्य कार्य दल, रेडक्रसकर्मी, नगर प्रहरी र सरोकारवालाहरुलगायत ५० जनाभन्दा बढीको सहभागिता रहेको छ ।