झापा । बितेको ३ दिनभित्रमा अर्जुनधाराका ७ व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ । असोज २३ गतेदेखि २५ गतेभित्रमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

धरान र विराटनगरका विभिन्न ल्यावमा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । अर्जुनधारा स्वास्थ्य शाखाका अनुसार तीन दिनभित्रमा अर्जुनधारा २, ५, ७, ९ र ११ नम्बरका व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार अर्जुनधारा २ का ४३ वर्षीय पुरुषमा असोज २५ गते संक्रमण पुष्टि भएको हो । उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गराएका थिए । उनी हाल होम आइशोलेसनमा रहेका छन् ।

त्यस्तै, अर्जुनधारा ९ का बृद्धलाई पनि २५ गते नै संक्रमण पुष्टि भएको हो । ७५ वर्षीय बृद्धले विराटनगरस्थित न्यूरो हस्पिटलमा स्वाब संकलन गराएका थिए । उनलाई थप उपचारका लागि धरान लगिएको छ । यसैबीच, वडामा संक्रमण फैलिएकाे भन्दै ९ नम्बर वडा कार्यालय अनिश्चितकालका लागि बन्द गरिएकाे छ ।

अर्जुनधारा ५ का २३ वर्षीय युवकमा पनि संक्रमण पुष्टि भएको छ । विराट मेडिकल कलेज विराटनगरमा स्वाब संकलन गराएका उनको असोज २४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई मेची कोभिड अस्पतालमा थप उपचार गराउन पठाइएको छ ।

अर्जुनधारा ११ का ५३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएपछि थप उपचारका लागि धरान पठाइएको छ । उनलाई असोज २३ गते नै संक्रमण पुष्टि भएको हो ।

यसैगरी बिएन्डसी हस्पिटलमा कार्यरत २७ वर्षीया स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । अर्जुनधारा ११ निवासी स्वास्थ्यकर्मीलाई असोज २४ गते नै संक्रमण भएको थियो । उनी बिएन्डसी हस्पिटलकै आइशोलेसनमा उपचाररत छिन् ।

यसैगरी असोज २४ गते रिपोर्ट पोजेटिभ आएका ५३ वर्षीय पुरुषको धरानमा उपचार भइरहेको छ । अर्जुनधारा ७ निवासी उनको धरानमै स्वाब संकलन भएको थियो । यसअघि स्थानीय शंकर हस्पिटलमा ६ दिनसम्म उपचार गराउँदा सम्भव नभएपछि धरान रेफर गरिएको हो ।

अर्जुनधारा ५ की एक महिलाको रिपोर्ट पुनः पोजेटिभ आएको छ । एक साताअघि नै संक्रमण पुष्टि भएकी उनको पुनः परीक्षण गरिएको हो । उनको धरानमा उपचार भइरहेको छ । संक्रमित सबै स्थानीय बासिन्दा हुन् ।