बिर्तामोड । झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगितामा आज भएको खेलबाट आयोजक निलो र दमक भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

डोमालाल राजवंशी रंगशालामा भएको पहिलो खेलमा मोरङको ढल्कियो जोवन भेट्रान्समाथि गोलवर्षा गर्दै बिर्तामोड भेट्रान्स निलोले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आयोजक निलोले ७-२ गोलअन्तरमा पराजित गरेको हो । उसका लागि कृष्ण शाक्य र रविन राईले समान २-२ गोल गर्दा सन्तोष राई, टेकराज तिलिङ र कुमार सुब्बाको नाममा १-१ गोल रह्यो ।

 

दमकका लागि विनोद लामा र डेनिम राईले गोल गरेका थिए । खेलको प्लेयर अफ दी म्याच आयोजकका प्रवेश कटुवाल भए ।

 

दोस्रो खेलमा दमकले इलामको फेमे गुरु भेट्रान्सलाई ३-२ गोलअन्तरले पराजित गरेको हो । दमकका लागि शिव लिम्बू, सन्तोष नेपाली र सुबास आङदेम्वेले गोल गरेका हुन् भने इलामका लागि प्रदिप राई र राजु थापामगरले गोल गरे । खेलको प्लेयर अफ दी म्याच सन्तोष परियार भए ।

 

दुवै खेलका प्लेयर अफ दी म्याचलाई प्रमुख अतिथि एके स्पोर्टस्का देवराज परियार र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले नगद १ हजार ५ सयसहित ट्रफी प्रदान गरेका थिए ।

 

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजारसहित टर्फी पाउने छ भने उपविजेताले नगद ५१ हजारमा चित्त बुझाउनु पर्नेछ । बिर्तामोड भेट्रान्स एफसीका अध्यक्ष किरण थापाका अनुसार भोलि अन्तिम क्वाटरफाइन खेल हुनेछ । प्रतियोगिताको प्रथम पुरस्कार फुटबलप्रेमी नेत्रनारायण श्रेष्ठले प्रायोजन गरेका हुन् ।