दमक । दमकमा भएको आगलागीबाट १८ लाख बराबरको क्षति भएको छ । आज बिहान करिब ५ बजे दमक नगरपालिका वडा नं।६ बर्सपार्कस्थित ड्रयागन होटल र नजिकैको टायर रिसोलिङ सेन्टरमा आगलागी भएको थियो।

 

दमक ८ का होमबहादुर खड्काले जस्ताको बेराले बनेको जस्ताको छानो भएको एकतले भुइँघरमा सञ्चालन गरेको ड्रागन होटल -चिया नास्ता तथा फलफूल) पसलमा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो । उक्त होटल पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १५ लाखबराबरको क्षति भएको छ ।

 

सोही होटलमा जोडिएको दमक ८ मा डेरा गरी बस्ने मोहमद नसिरले जस्ताको बेराले बनेको जस्ताको छानो भएको एकतले भुइँघरमा सञ्चालन गरेको जनता टायर सर्भिस पसल पनि पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी २ लाखबराबरको क्षति भएको छ ।

 

त्यस्तै तेह्रथुम लालीगुँरास गाउँपालिका ४ घर भई हाल दमक बस्ने मिलन तामाङले सञ्चालन गरेको दोर्जे किराना पसलको स्टोर रुममा आंशिक क्षति हुँदा १ लाख गरी अन्दाजी १८लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

उक्त आगो बिहान ६ः०५ बजे दमक, कमल र उर्लाबारी नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक विपन विश्वकर्माको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल पाडाजुँगीबाट सशस्त्र प्रहरी निरीक्षक आवास प्रधानांगको कमाण्डमा १५ जना र स्थानीयसहितको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।