धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशीष श्रेष्ठका अनुसार तेह्रथुम घर भएका ४९ वर्षीय पुरुषको बुधबार साँझ ७ बजेतिर उपचारकै क्रममा मृत्यु भएको हो । निमोनिया देखिएसँगै धनकुटा अस्पतालबाट असोज २५ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

असोज २६ गते बिरामीको पीसीआर परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएको बताउँदै डा श्रेष्ठले बिरामीमा कुनै दीर्घरोग भए नभएको बारेमा केही नखुलेको जानकारी दिए । यससँगै हालसम्म प्रतिष्ठानमा उपचाररत ५४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।