बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा ६३ जना कारोना भाइरस संक्रमित थपिएका छन् । थपिएकामध्ये बिर्तामोडका चार जना स्वास्थ्यकर्मी रहेका छन् ।

आज सबैभन्दा बढी कचनकवल गाउँपालिकामा ३ महिला र ११ जना पुरुष संक्रमित थएका छन् । यस्तै, बिर्तामोड र दमकमा १३-१३ जना रहेका छन् । बिर्तामोडमा ४ जना महिला र ९ जना पुरुष थपिएका हुन् भने दमकमा २ जना महिला र ११ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस्तै, मेचीनगर गौरादहमा ५-५ जना, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा ३ पुरुष, कमलमा ३ जना, शिवसताक्षीमा २ जना, बुद्धशान्ति, बाह्रदशी र झापा गाउँपालिकामा १-१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आजै कोरोना संक्रमणबाट झापामा ३ व्यक्तिको मृत्यु भएको छ । जसमा दमक ६ का ८७ वर्षीय पुरुष, शिवसताक्षी ६ का ६३ वर्षीय पुरुष र अर्जुनधारा ७ का ६१ वर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै झापामा मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

आजसम्म झापा जिल्लामा कुल संक्रमितको संख्या २ हजार ९१६ पुगेको छ । यस्तै, १ हजार ७७० जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १ हजार ७१ जना सक्रिय संक्रमित भइ आइशोलेसनमा उपचाररत रहेका छन् ।