झापा । कोरोना संक्रमणबाट झापामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर र बुद्धशान्तिका एक-एक जना छन् भने इलामकी एक बृद्धाको बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।
तर, स्वास्थ्य कार्यालयले आज जारी गरेको रिपोर्टमा मृत्युबारे कुनै उल्लेख गरिएको छैन । कार्यालयले यसअघि नै मृत्यु भएका कनकाईका एक व्यक्तिको बारेमा भने जनाएको छ ।
भद्रपुर नगरपालिका वडा नं ४ की ६० वर्षिया प्रभा गुरुङको आज बिहान ११ः३० बजेतिर घरमै मृत्यु भएको हो । उनलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरिएको पिसिआर परीक्षणमा हिजो कोरोना पुष्टि भएको थियो । त्यसपछि उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटल लैजाँदा हस्पिटलले भर्ना लिन नमानेपछि घर फर्काइएको थियो ।
त्यस्तै बुद्धशान्ति गाउँपालिकाका एक जना कोरोना संक्रमितको विराट मेडिकल हस्पिटल विराटनगरमा मृत्यु भएको छ । बुद्धशान्ति ३ का ७७ वर्षिय कविराज सुब्बाको गएराति ८ः३० बजे मृत्यु भएको हो । उनलाई करिव दुई साताअघि उपचारका लागि लगिएको थियो ।
मृतकको शवलाई आज विराटनगरमै अन्त्येष्टि गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । योसँगै बुद्धशान्तिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३ पुगेको छ ।
त्यस्तै इलाम माई नगरपालिका ९ बस्ने ७८ वर्षिया जसमाया तामाङको बिएण्डसी हस्पिटलमा मृत्यु भएको छ । मंसिर २ गते संक्रमण पुष्टि भएकी तामाङको मंसिर ४ गते बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । दुई दिनपछि आज उनको नेपाली सेनाले कनकाई माईमा अन्त्येष्टि गरेको जनाइएको छ ।
झापाका थप ५४ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टाभित्र झापाका ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ महिला र २६ जना पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी कनकाई नगरपालिकाका १४ जना रहेका छन् । त्यहाँ ९ जना महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै, भद्रपुर नगरपालिकामा ११ जनामा थप संक्रमण पुष्टि भएको छ । जसमा ७ महिला र ४ पुरुष रहेका छन् । यसैगरी बिर्तामोड नगरपालिकामा ५ महिला र ५ पुरुष संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । तर, बिर्तामोड नगर स्वास्थ्य शाखाका अनुसार आजै ८ महिलासहित १३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा नगर प्रमुख ध्रुवकुमार शिवाकोटीमा पनि संक्रमण पुष्टि भएको हो ।
यसैगरी, आज थप संक्रमित हुनेहरुमा अर्जुनधाराका ५ जना उल्लेख गरिएको छ । ३ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले आफ्नो रिपोर्टमा जनाए पनि आज कोही पनि संक्रमित नभएको बताइएको छ ।
अर्जुनधारा नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार अर्जुनधाराका ५ जना भनिए पनि सम्पर्क ठेगाना र मोबाइल नम्बर बिर्तामोड नगरबासीको रहेको छ । स्वास्थ्य शाखामा उपलब्ध रिपोर्टमा अर्जुनधारा ५ का ध्रुवकुमार शिवाकोटी उल्लेख गरिएको छ । शिवाकोटी बिर्तामोड ५ निवासी नगर प्रमुख हुन् ।
यस्तै, शिवसताक्षीमा १ महिला र १ पुरुष, मेचीनगरमा १ महिला र ३ पुरुष, बुद्धशान्तिका १ पुरुष र अन्य जिल्लाका १ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाको रिपोर्टमा उल्लेख छ ।