विराटनगर । कोरोना भाइरसबाट सङ्क्रमित भएका केही व्यक्तिमा लक्षण देखिँदैन । केही सङ्क्रमितमा भने सामान्य रुघाखोकी, ज्वरो तथा फ्लुका जस्तो लक्षण देखिन सक्छन् ।

जोखिम समूहमा रहेका सङ्क्रमितमा सास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कमी हुने, निमोनिया भइ अस्पताल भर्ना हुनुपर्नेसमेत हुनसक्छ । पछिल्लो समय संक्रमण भएर लक्षण नदेखिएमा वा लक्षण देखिए पनि गम्भीर खालको समस्या नदेखिएसम्म अस्पताल जानु नपर्ने अधिकांशको सोच रहेको छ ।

घरमै बसेका सङ्क्रमितलाई सानो समस्या भए तुरुन्तै अस्पताल जाने कि नजाने भन्ने दोधार पनि छ । त्यसैले, होम आइसोलेशनमा बसेका संक्रमितमा कोरोना लक्षण देखिएर श्वासप्रश्वासमा समस्या आएमा समेत अस्पताल नगइ अक्सिजनको सहायतामा घरमै बस्दैआएका छन् ।

अस्पतालमा बेड नभएर वा सङ्क्रमितमा पर्याप्त जानकारी पनि छैन । सङ्क्रमितले आफूमा देखिएको लक्षण सामान्य मात्र हो यसले केही हानि हुँदैन भनी सोचेर लापरवाही गरेमा, समयमा अस्पतालमा गएर उपचार नपाएमा कोभिडका सङ्क्रमित गम्भीर हुने वा मृत्युसमेत हुने सम्भावना धेरै हुन्छ ।

कोरोना भाइरसको सङ्क्रमण हुँदा एकदमै छिटो गतिमा फोक्सोमा असर पुर्‍याउनेगरी निमोनिया हुन्छ । जसले गर्दा श्वासप्रश्वासमा समस्या हुने, छाती दुख्ने, शरीरमा अक्सिजनको मात्रा कम हुने जस्ता लक्षण देखा पर्छ । कहिलेकाँही कुनै कोभिड बिरामीमा सास फेर्ने समस्या नभएपनि अक्सिजनको स्तर नाप्दा शरीरलाई चाहिने अक्सिजनको मात्रा पुगिरहेको हुँदैन ।

हाल कोभिड सङ्क्रमितलाई ‘साइलेन्ट निमोनिया’का कारण संक्रमण गम्भीर भएको चिकित्सकहरूले बताउँदै आएका छन् । अस्पतालमा धेरैजसो आउने सङ्क्रमित र होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई ‘साइलेन्ट निमोनिया’ ले नै गाह्रो बनाइरहेको सङ्क्रमितको उपचार गरिरहेका विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्लमोनोलोजिष्ट तथा क्रिटिकल केयर फिजिसियन डा पुरु कोइराला बताउँछन् ।

विराटनगरमा गम्भीर निमोनियाका रोगीहरू बढिरहेका छन् । त्यसमा पनि अस्पताल भर्ना हुने ८० प्रतिशत सङ्क्रमितमा साइलेन्ट निमोनियाको समस्या देखिन थालेको डा। कोइरालाको भनाइ छ ।

घरमा बसेका सङ्क्रमितमा पनि अक्सिजन स्याचुरेसनको मात्रा घटेपछि साइलेन्ट निमोनिया भइरहेको हुन्छ । घरमा बसेका अधिकांशले अक्सिजन स्याचुरेसन मूल्यांकन गरिरहेका हुन्छन्, उनले भने, ‘केही दिन आराम भए पनि एकैपटक अक्सिजनको मात्रा घटेको थाहा पाउना साथ आत्तिएर अस्पताल आउने वा तुरुन्तै डाक्टरसँग सम्पर्क गर्ने गर्छन् । साइलेन्ट निमोनियाको लक्षण भनेकै अक्सिजनको मात्रा अचानक घट्ने हो । साथै, छाती भारी हुने, छाती दुख्ने समस्या हुन सक्छ । साइलेन्ट निमोनियामा खासै ज्वरो र खोकीको समस्या देखा नपर्न पनि सक्छ ।

त्यसैले होम आइसोलेशनमा बस्ने सङ्क्रमितले समेत लगातार अक्सिजनको लेभल नापिरहनुपर्छ, आफूलाई सास फेर्न असहज हुनासाथ डाक्टरसँग सल्लाह लिनुपर्ने हुन्छ ।

कोसी अस्पतालका सिनियर फिजिसियन डा दीपक सिग्देलका अनुसार ‘साइलेन्ट निमोनिया’को समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढेको छ । जाडो मौसम बढेसँगै होम आइसोलेशनमा बसेका संक्रमतिलाई मात्र नभएर अन्यलाई पनि छिटो निमोनिया हुन सक्छ ।

‘अहिले जाडो मौसमको सिजन पनि छ । अधिकांशलाई निमोनिया लाग्ने सम्भावना उच्च रहन्छ,’ उनले भने, ‘त्यसमा पनि दमका बिरामीमा यसै पनि अक्सिजनको मात्रा कम हुनसक्छ ।’

दमका बिरामीमा अन्य संक्रमण हुने भएका कारण निमोनियाका हुन सक्छ । उनका अनुसार अस्पताल आएका धेरैजसो दमका बिरामीलाई निमोनिया भएको भनेर शंका गरिरहँदा तीमध्ये धेरैमा कोरोनाको सङ्क्रमण पनि देखा परिरहेको छ ।

साइलेन्ट निमोनिया हुँदा विस्तारै भित्रभित्रै फोक्सोको संक्रमण भएर फोक्सोलाई कडा बनाउने गर्छ । जसकारण अक्सिजनको मात्रा विस्तारै घट्दै जान्छ । यो भाइरल निमोनियामा विशेषगरी कोभिडको संक्रमणमा शरीरमा अक्सिजनको मात्रा कम भएरै सङ्क्रमितको मृत्यु हुने गर्छ । फोक्सो अस्वस्थ भएको बेलामा अन्य व्याक्टेरियाको आक्रमणले गर्दा पनि निमोनिया हुन सक्छ ।

कोरोना भाइरसको सङ्क्रमणमा र निमोनियामा सामान्य देखिने लक्षण भनेकै छाती दुख्ने, छाती भारी हुने, ज्वरो आउने र सास फेर्न गाह्रो हुने हुन्छ । यी सङ्केतलाई नै हेर्न महत्त्वपूर्ण हुन्छ । कोरोनाको संक्रमण भएर होम आइसोलेशनमा बसेकालाई अक्सिजनको मात्रा नाप्न सल्लाह दिइने गरेको छ ।

अहिले होम आइसोलेशनमा बसेका अधिकांश सङ्क्रमितलाई अक्सिजनको मात्रा नाप्नका लागि पल्स अक्सिमिटर प्रयोग गर्न सुझाव दिरहेका छौँ । घरमै बस्दा लगातार, ज्वरो देखियो, छाती दुख्ने तथा सास फेर्न गाह्रो हुने देखिएमा उपकरणले अक्सिजन मात्रा जाँच गर्नुपर्छ र मात्रा कम देखियो भने अस्पताल जानुपर्छ,’ उनले भने ।

यो अवस्थामा अक्सिजन नाप्दा ९६ प्रतिशत वा सोभन्दा कम भए तुरुन्त अस्पताल जाने वा डाक्टरको परामर्श लिन जरुरी हुन्छ । यसले बिरामीलाई गम्भीर अवस्थामा जान रोक्छ । यस्तो बेलामा बिरामीलाई तुरुन्त अक्सिजन दिनुपर्ने हुन्छ नभए कडा किसिमको निमोनिया विकास भइसक्ने डर रहन्छ ।

लक्षण बढ्दै गएका अन्य व्याक्टेरियल सङ्क्रमण हुन सक्ने सम्भावना पनि बढेर जान्छ । अक्सिजनको मात्रा कम भएर बिरामीको मृत्युसमेत हुनसक्छ ।