अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा मातहतबाट प्रवाह गरिने स्वास्थ्य सेवा र नागरिकले पाउनुपर्ने स्वास्थ्य अधिकारका विषयमा सोमबार सरोकारवालासँग अन्तरक्रिया गरिएको छ ।
मानवअधिकार समूह अर्जुनधाराको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको सहयोगमा यसअघि विभिन्न विषयको समस्या पहिचान गरी योजना तर्जुमा कार्यक्रम गरेको थियो । सोही कार्यक्रममा उठेका गुनासालाई लिएर आज स्वास्थ्य शाखासँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा स्वास्थ्यमाथि नगरबासीको अधिकार सम्बन्धमा अन्तरक्रिया केन्द्रित थियो ।
नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा निर्माण गरेको नीतिसँगै स्वास्थ्य शाखाले प्रवाह गर्ने सेवा र नागरिकको समस्याहरुप्रति शाखालाई जागरुक बनाउन कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक राजन साम्पाङले बताए ।
कार्यक्रममा नगरमा रहेको अस्पताल र स्वास्थ्य केन्द्रको अवस्था, ज्येष्ठ नागरिकले सेवा पाउन भोग्नुपरेको समस्या, सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रममा विपन्न नागरिकहरुको पहुँच, प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहितको विशेष शिविरलगायतका विषयमा छलफल गरिएको थियो ।
स्वास्थ्य अधिकारका विषयमा उठेका सवाल र कार्यक्रमका सहभागीले राखेका जिज्ञासामा नगर स्वास्थ्य शाखा संयोजक मुकुन्द बस्नेतले जानकारी दिएका थिए । हाल शाखाले प्रतिकारात्मक र प्रबद्र्धनात्मक सेवासँगै नगरमा अस्पताल सञ्चालन भएपछि उपचारात्मक सेवा पनि प्रदान गर्दै आएको उनले बताए । उनले कार्यक्रममा प्रस्तुत र छलफल भएका विषयहरु समाधानको लागि शाखाले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समूहका अध्यक्ष चन्द्रप्रसाद सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा इन्सेक झापाका प्रतिनिधि नरेश खाती, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, समूहकी सहसचिव सोना गेलाल, सदस्य झुमा घिमिरे, श्री आधारभूत विद्यालयका कर्मचारी भीम बराललगायतले जिज्ञासा राखेका थिए ।
नगर कार्यपालिका सदस्यद्वय दिलमाया दास र सकुन्तला बराललगायतको सहभागिता रहेको कार्यक्रममा इन्सेक झापा प्रतिनिधि खातीले स्वागत गरे भने कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक साम्पाङले गरेका थिए ।