सांकेितक तस्वीर ।

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमण भएका झापाका २ जनाको मृत्यु भएको छ । केही समयअघि संक्रमित भएका मध्ये दुई जनाको मृत्यु भएको हो । यसैगरी, आज झापामा आज १२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबार जिल्लाका ४ वटा पालिकामा ८ महिला र ४ जना पुरुषसहित १२ जनामा कोरोना भाइरसको संक्रमण र २ जनाको ज्यान गएको पुष्टि भएको हो ।

दमक नगरपालिकामा ४ महिलासहित ८ जना, बिर्तामोड नगरपालिकामा २ जना महिला, भद्रपुर नगरपालिकामा १ जना महिला र बुद्धशान्ति गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । सबै संक्रमित जना स्थानीय हुन् ।

आज मृत्यु हुनेमा १ जना पुरुष र १ जना महिला छन् । जसमा बिर्तामोड–४ का ८१ वर्षीय पुरुष र गौरादह–५ का ५५ वर्षीया महिलाको कोरोना भाइरसको कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३४ हजार ८३५ स्वाब संकलन गरिएका मध्ये ४ हजार ४०३ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२७ जनाको मृत्यु भइसकेको छ ।

आइसोलेसनमा रहेका सकृय संक्रमित ४३१ र होम आइसोलेसनमा ४२४ र हालसम्म निको भएर घर फर्किएका ३ हजार ८४५ जना रहेको चौलागाईले बताए ।