अर्जुनधारा । नमूना सामुदायिक वन उपभोक्ता समूह अर्जुनधारा–९को विशेष साधारणसभा शनिबार सम्पन्न भएको छ ।

समूहको कार्ययोजनाअनुसारको कार्यहरु गर्न र उपभोक्ताहरुको हितको लागि गरेको निर्णयहरु अनुमोदन गरेर लानुपर्ने आवश्यक भएको हुँदा उक्त सभाको आयोजना गरिएको बताइएको छ ।

समूहका अध्यक्ष भानु श्रेष्ठको अध्यक्षता र सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले तीन वटा प्रस्ताव पेश गरेका थिए । पेश गरिएको प्रस्तावहरुमा गत आर्थिक वर्षको आय–व्यय विवरण, चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम र समूहको घाटगद्दीमा रहेका काठदाउरा सम्बन्धित निकायसँग अनुमति लिई बिक्री वितरण गर्ने रहेको छ ।

प्रस्तुत प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको अनुमानित आम्दानी ३४ लाख ८९ हजार ४७१ रुपैयाँ १० पैसा उल्लेख गरिएको छ । उक्त आम्दानीमध्ये गरिबी न्यूनीकरण सामुदायिक विकास कार्यक्रममा १२ लाख २१ हजार ३१४ रुपैयाँ ७५ पैसा, वन विकासतर्फ आठ लाख ७२ हजार ३६७ रुपैयाँ ८५ पैसा, संस्थागत तथा भौतिक विकासतर्फ आठ लाख ७२ हजार ३६७ रुपैयाँ ७५ पैसा र प्रशासनिक खर्चतर्फ पाँच लाख २३ हजार ४२० रुपैयाँ ७५ पैसा विनियोजन गरिएको छ ।

कार्यक्रममा अर्जुनधारा–१०का वडाध्यक्ष बलदेवसिंह गोम्देन, नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)का पुष्प तामाङ, सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका महासचिव हर्कराज राई, किरात याक्थुम चुम्लुङ नगरका अध्यक्ष तिलसिंह माङमु लिम्बू, समूहका प्रमुख सल्लाहकार छविलाल भट्टराई, मोहन सुब्बालगायतको आतिथ्यता रहेको थियो ।

समूहका उपाध्यक्ष सूर्यप्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सन्तकुमार राईले गरेका थिए । गत पुस १४ गते सम्पन्न समूहको साधारणसभाबाट विधान संशोधन र नयाँ पाँच वर्षे कार्ययोजना पारित भएको थियो ।