काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
सोमबार सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, ती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
मंगलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।