काठमाण्डौ । भाेलि बुधवारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

पश्चिमी वायु सक्रिय हुने भएकाले भोलि २१ गते बुधबार बेलुकादेखि शुक्रबारसम्म देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभएको छ । पश्चिमी वायुको असर शुक्रबारपछि पनि रहन्छ वा रहँदैन भन्ने कुरा भने कत्तिको सक्रिय हुन्छ भन्नेमा भर पर्ने उहाँले बताउनुभयो ।

 

शुक्रबार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा आउने बुधबार अलि धेरै पानी पर्ने सम्भावना रहेको छ । त्यसपछि बिस्तारै मध्यहुँदै पूर्वतर्फ सर्नेछ र देशभरि नै प्रभाव पर्नेछ ।

 

मौसम बदलीका कारण देशका धेरै ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तर, धेरै ठूलो पानी पर्ने सम्भावना भने छैन । चिसोको समयमा मौसम बदली भएर सानो पानी पर्दा पनि चिसो धेरै नै बढ्छ । मौसम बदली भएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्ने भएकाले चिसो अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

 

मौसम पूर्वानुमान विभागका अनुसार आज भने देशका धेरैजसो ठाउँमा दिनभरि घाम लाग्नेछ । प्रदेश २ र गण्डकी प्रदेशका केही ठाउँमा बिहान बेलुका कुहिरो लाग्ने सम्भावना छ ।