इलाम । इलामको सूर्योदय नगरपालिकाले जेठ दोस्रो साता दोस्रो सूर्योदय मेयर कप आमन्त्रण पूmटबल प्रतियोगिता २०७६ सञ्चालन गर्ने भएको छ ।
प्रतियोगिताबारे बुधबार फिक्कलमा नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा तयारीबारे जानकारी दिइयो । इलाम र झापा जिल्लाका नौ वटा नगरपालिकाको तर्पmबाट नौ टीमको सहभागिता रहने प्रतियोगिता सूर्योदय नगरपालिका १२ स्थित करफोक माविको खेलमैदानमा सञ्चालन गरिने भएको छ ।
प्रतियोगिता सञ्चालन गर्न वडा नम्बर १० का वडाध्यक्ष पेमा उर्गेन लामा (भाइचुङ)को संयोजकत्वमा सात सदस्यीय आयोजक कमिटी गठन गरिएको र सोअन्तर्गत खेल ब्यवस्थापनका लागि विभिन्न सात उपसमिति पनि गठन गरी तयारी भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
स्वदेशी तथा बिदेशी पर्यटकहरूलाई आकर्षित गरी खेल पर्यटन प्रवद्र्धन गर्ने अवधारणासँगै नगरपालिकाबीच आपसी सद्भाव तथा समन्वयात्मक सम्बन्ध स्थापित गराउन सेतु बन्ने उद्दश्यले यो प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा वडाध्यक्ष लामाले बताए ।
सूर्योदय नपाका प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा स्थानीयस्तरमा खेलकुद विशेषगरी पूmटबलको विकास गर्न नगरपालिकाले मेयर कप आयोजना गरेको प्रमुख राईको भनाई थियो । उनले नगरपालिकाबाट खेलकुदको विकासको लागि विभिन्न वडाहरूमा खेलमैदान निर्माणलगायतका कार्यक्रमहरू चालु आर्थिक वर्षमा पनि सञ्चालन गरिएको बताए ।
जेठ ११ गते शुरु भएर १८ गते फाइनल खेल हुने यो प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिकासहित इलामका माई, देउमाई र इलाम नगरपालिका तथा झापाका दमक, शिवसताक्षी, कन्काई, मेचीनगर र अर्जुनधारा नगरपालिकाको तर्पmबाट टीम दर्ता गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न २० लाख ८२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उपविजेताले एक लाखसहित ट्रफी पाउनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पनि जनही आठ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नगरपालिकाले यसअघि २०७४ सालमा प्रथम सूर्योदय मेयर कप आयोजना गरेको थियो । सूर्योदय नपाले नपाका १४ वटा वडाभित्रबाटै स्थानीयस्तरका १८ जना खेलाडी छनौट गररी बन्द प्रशिक्षण दिइरहेको बताइएको छ ।
खेलाडीलाई प्रतियोगिताभरका लागि नपाले अनुबन्धित गरेको प्रमुख राईले बताए । प्रतियोगितामा ती खेलाडीले लगाउने जर्सीसमेत पत्रकार सम्मेलनमै सार्वजनिक गरि खेल प्रशिक्षक अभिषेक श्रेष्ठलाई प्रमुख राईले हस्तान्तरण गरेका थिए ।