झापा (एजेन्सी) । अस्वस्थ्यकर खानपान र बिलासी जीवनशैली कारण मुटु रोग, मधुमेह र क्यान्सर लगायतका नसर्ने रोगहरु अहिले प्रत्येक घरमा देखिन थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) २०१६ का अनुसार ४१ मिलियन मानिसहरु नसर्ने रोगका कारणबाट ज्यान गुमाइरहेका छन्। ३१ प्रतिशत मुटु रोग, १६ प्रतिशत क्यान्सर, ३ प्रतिशत मधुमेहबाट आफ्नो जीवन गुमाइरहेको डब्लुएचओ को तथ्यांक छ।

 

डब्लुएचओ को २०१६ को तथ्यांक अनुसार नेपालमा ९.१ प्रतिशत मानिसहरु मधुमेहबाट ग्रसित छन्। तिमध्ये १०.५ प्रतिशत पुरुषमा देखिएको छ भने ७९ प्रतिशत महिलामा देखिएको छ । नेपाल बर्डेन अफ डिजिज २०१७ अनुसार, नेपालीको मृत्यु हुनुको प्रमुख कारण मुटु रोग भनिएको छ ।

 

त्यस्तै विश्व स्वास्थ्य संगठन ग्लोबल क्यान्सर बर्डेन २०१८ अनुसार, प्रत्येक ८ जना पुरुष मध्ये १ जना र प्रत्येक ११ जना महिला मध्ये १ जना क्यान्सरबाट ज्यान गुमाइरहेको उल्लेख गरिएको छ। यी समस्या जीवनशैली, खानपान, नियमित व्यायामसँग सम्बन्धित छन् । जसलाई मेटाबोलिक सिन्ड्रोम पनि भनिन्छ । यस्ता रोगहरूबाट बच्न हामीले सन्तुलित आहार, सन्तुलित मात्रा र नियमित व्यायाममा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

 

सन्तुलित आहार भनेको हाम्रो शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्व जस्तै कार्बोहाइड्रेट, प्रोटिन, बोसो र तेल, फाईवर, पानी, भिटामिन र खनिज पदार्थहरु सहि मात्रामा प्रदान गर्ने आहार हो । यी पोषक तत्वहरु विभिन्न किसिमका खानेकुरा समावेश गरेर प्राप्त गर्न सकिन्छ ।

 

५ खाद्य समुह पहिलो अन्न (भात, चिउरा, कोदो, मकै, गहुँ, आलु तथा कन्दमुल), दोस्रो दाल र गेडागुडी, तेस्रो मासु, माछा, अण्डा, चौथो हरियो सागसब्जी तथा पहेलो फलफूल, (दूध तथा दुध जन्य परिणाम) र पाँचौ चिनी र तेल उचित मात्रामा समावेस गरेर खान सकिन्छ ।

 

सन्तुलित आहार प्रत्येक व्यक्तिको उचाई, तौल, लिङ्ग, उमेर, शारीरिक कृयाकलाप, र स्वास्थ्य अवस्थाका आधारमा पनि फरक फरक हुन्छन् । इन्डियन काउन्सील अफ मेडिकल रिसर्च २०१० का अनुसार, एक स्वस्थ साधारण काम गर्ने ६० केजी को पुरुषलाई दिनभरी का लागि २३२० किलो क्यालोरी शक्ति चाहिन्छ भने ५५ केजी को महिलालाई दिनभरी का लागि १९०० किलो क्यालोरी शक्ति चाहिन्छ भनिएको छ ।

 

सन्तुलित आहारले सबै उमेरका व्यक्तिहरु जस्तै बालबालिका देखि वृद्धसम्म र गर्भवती तथा सुत्केरी महिलाहरुलाई पनि स्वस्थ रहन मद्धत पुर्याइछ । साथै सन्तुलित आहारले हाम्रो तौल नियन्त्रणमा राख्न मद्धत गर्दछ साथै रोग सँग लड्ने क्षमता प्रदान गर्दछ । यसले शरीरलाई चाहिने शक्ति प्रदान गर्दै हाम्रो मानसिक र शारीरिक वृद्धि विकास गराउन मद्धत पुर्‍याउँछ ।

 

अहिलेको समयमा मानिसहरु सन्तुलित आहारको बारेमा थाहा हुँदाहुँदै पनि यसको महत्त्व नबुझि आफ्नो स्वादको लागी मात्र खाइरहेका छन् । हाम्रा धेरै जस्तो खाजाहरू प्रोसेस्सड् फूड र जङक् फुडले नै सजिएको हुन्छ ।

 

जसको कारण केहि समय पछि अधिकतम तौल वृद्धि, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, डायविटिज र क्यान्सर जस्ता घातक रोगहरु लाग्ने जोखिम बढी हुन्छ । त्यसैले हामीले हाम्रो खानालाई विशेष ध्यान दिनुका साथै नियमित शारीरिक व्यायाम अपनाउनु पनि आवश्यक पर्दछ ।